अब सहजै पुगिन्छ झार्लाङको तातोपानीमा नुहाउन

फाल्गुन २६, २०८० |पोषनाथ अधिकारी
अब सहजै पुगिन्छ झार्लाङको तातोपानीमा नुहाउन

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिकाको झार्लाङमा रहेको तातोपानी मूलमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । त्यहाँको तातोपानीमा नुहाउँदा छालासम्बन्धी रोग निको हुने विश्वासका साथ झार्लाङ पुग्नेहरुको संख्या ठूलै छ ।

भौगोलिक कठिनाइका कारण धादिङको झार्लाङमा रहेको तातोपानी मूलमा मानिसहरु पहिले चाहेर पनि सजिलैसँग जान सक्दैन थिए । आँखु नदीको किनारमा हरेको पहरामा मूल भएकाले त्यहाँसम्म जान जोखिम मोल्नुपर्थ्यो । तर, अहिले खनियाबास गाउँपालिकाले विभिन्न निकायसँगको समन्वयमा सो क्षेत्रमा गोरेटो बाटो बनाउनेदेखि नुहाउने ठाउँसमेत व्यवस्थित गरेपछि नुहाउन जानेको संख्या बढेको छ ।

दार्खाका स्थानीय सुजन तामाङ भन्छन्, 'पहिले सदरमुकाम धादिङबेँसीबाट एक दिनको पैदल यात्रापछि मात्रै झार्लाङको तातोपानीसम्म पुग्न सकिन्थ्यो । तर अहिले मूल नजिकैसम्म मोटरबाटो पुगेको छ ।'

यात्रीलाई सहज होस् भनेर पहरामा पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाले धारा र कुण्डसमेत निर्माण गरेको छ भने सो क्षेत्रमा रेलिङ हालेर सुरक्षित बनाइएको छ ।

खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ गाउँपालिकाले संरक्षण थालेको तातोपानीलाई प्रदेश र संघ सरकारले पनि चासो दिन सके काठमाडौंबाट नजिकै रहेको यो ठाउँमा अझै ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने बताउँछन् ।

झार्लाङ भ्रमणमा पुगेकी जापानी पर्यटक तदासिहाराले नेपाल धेरै रोमाञ्चक र प्राकृतिक सम्पदाले धनी पाएकाले आफ्ना जापानी साथीहरुलाई यस्ता ठाउँको भ्रमण गर्न र अन्वेषण गर्न प्रोत्साहन गर्ने बताइन् ।

सदरमुकाम धादिङबेँसीदेखि ३५ किलोमिटर दूरीमा रहेको तातोपानीसम्मको सडक स्तरोन्नति गरी पर्यटकलाई आवासको राम्रो व्यवस्था गर्न सके यहाँको तातोपानी मूलले पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउन सक्ने देखिन्छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement