व्यवसायी भन्छन्- पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसाय मारमा पर्‍यो

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
व्यवसायी भन्छन्- पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसाय मारमा पर्‍यो

कास्की । पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा दुःख व्यक्त गरेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसाय मारमा परेको भन्दै गुनासो गरेका छन् ।

पोखरा पर्यटन परिषद्‌द्वारा बुधबार आयोजित गण्डकी प्रदेशमा पर्यटनको सम्भवना र समस्या अन्तर्क्रियामा पर्यटन व्यवसायीहरुले विमानस्थल नियमित सञ्चालनमा आएको एक महिना बित्दासमेत अन्तर्राष्ट्रिय उडान हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराए ।

पर्यटन व्यवसायीले विमानस्थल बनाउन आन्दोलन गर्नुपरेको स्मरण गराउँदै उडान गर्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको जनाए । पृथ्वी राजमार्ग निर्माणाधीन अवस्थामा रहेको र उडानसमेत हुन नसक्दा पर्यटन क्षेत्र मारमा परेको उनीहरुको बुझाइ छ ।

कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले आउँदो फागुन ११ गतेदेखि विमानस्थल राति पनि सञ्चालनमा आउने भन्दै अन्तर्राष्ट्रिय उडानका लागि उच्च तहमा कूटनीतिक पहलको आवश्यकता रहेको जानकारी दिए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मगरले अन्तर्राष्ट्रिय उडान छिटो गर्न आवश्यक समन्वय गरिदिने प्रतिबद्धता जनाए । कार्यक्रममा नवनियुक्तमन्त्री जुग्जालीलाई पर्यटन व्यवसायीले स्वागत एवं सम्मानसमेत गरेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.