काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्ससँगको रोमाञ्चक खेलमा एक रनको जित निकालेको छ । घरेलु मैदान इडेन गार्डेन्स रंगशालामा कोलकाताले दिएको २०७ रनको लक्ष्य मुस्किलले मात्रै बचाउन सफल भयो । यो जितसँगै केकेआरले ११ खेलको समाप्तिमा ११ अंक नै बनाएर छैटौं स्थानमा उक्लिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो । ओपनिङमा रहमानुल्लाह गुरबाज र सुनिल नायरले १३ रनको मात्रै साझेदारी गरे । सुनिल ९ बलमा ११ रन र गुरबाजले ३५ रनको योगदान गरे । कप्तान अजिंक्या रहाणे ३० तथा अंगक्रिस रघुवंशीले ४४ रन जोडे । आन्द्रे रसल र रघुवंशीले ६१ रनको साझेदारी गरे । रसलले अविजित ५७ रन जोडेपछि केकेआरले उक्त लक्ष्य दिन सफल भएको हो । रिन्कु सिंहले पनि १९ रनको योगदान गरे ।
राजस्थानका जोफ्रा आर्चर, युद्धविर सिंह, महेश थिक्साना र रियान परागले एक एक विकेट लिए । जवाफमा राजस्थान कमजोर साबित भयो । उसले, वैभव ४, कुनल सिंह, ध्रुव जुरेल र वानिन्द्र हसरंगालाई शून्यमा गुमाएको थियो । ओपनर यशस्वी जैसवालले ३४ रन बनाए पनि सात ओभर तीन बलमा ७१ रन जोड्दा पाँच विकेट गुमाइसकेको कमजोर अवस्थामा पुगेको थियो । तर रियान परागले ४५ बलमा ९५ रन बनाएर राजस्थानलाई जीवन दिए । उनले १३ औं ओभरमा ३२ रन प्रहार गरेका थिए । इनिङभरि उनले ६ चौका र ८ छक्का प्रहार गरेका थिए ।
अन्तिममा सिम्रन हेटमायरले २९ र शुभम् दुवेले २५ रन जोडे पनि अन्तिम ओभरमा जितको लागि २२ रन आवश्यक रहेकोमा २० रन बनाएपछि राजस्थान एक रनले पराजित भएको हो । राजस्थानलाई जितसम्म पुग्नबाट रोक्न माइन अली, हर्षित राना र वरुण चक्रवर्तीले समान २-२ विकेट लिएका थिए । यसअघि नै प्ले अफ होडबाट बाहिरिएको राजस्थानलाई आजको हारले केही गुमाउनु परेन ।