काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु मा स्कटल्यान्डले अमेरिका माथि ७१ रनको जित हात पारेको छ ।
घरेलु टोलीको सिरिजमा लगातार यो दोस्रो हार हो । स्कटल्यान्डको जितमा ब्रेन्डन मेक्मलेनले शतकिय इनिङस खेले । टेक्सस डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
स्कटल्यान्डले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रनको योगफल बनायो । ओपनर एन्ड्रिउ उमिद १८ रनमानै आउट भए । तर दोस्रो विकेटका लागि चार्ली टियर र मेक्मलेनले १ सय ४ रनको साझेदारी गरेपछि स्कटल्यान्डले विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
चार्लीले ५१ रनको योगदान गरे । कप्तान रिच्ची बेरिङटन २६ रनमा मैदान बाहिरिए । मेक्मलेनले १ सय ४० वलमा १ सय ५१ रनको उत्कृष्ट इनिङस खेले । ओडिआइमा आफ्नो तेस्रो शतक प्रहार गरेका उनले एघार चौका र ६ छक्का प्रहार गरेका थिए । सौरभ नेत्रवाल्कर र जस्दिप सिंहले २-२ विकेट लिए । जवाफमा अमेरिका ४४ ओभरमा २ सय ४६ रनमा अल आउट भयो ।
माथिल्लो क्रमका तीन ब्याटर सस्तैमा पभेलियन फर्किएपछि अमेरिका दवावमा आएको थियो । सायन जाहिगंर ९ रनमा आउट हुदा साड्ली भानले खाता खोल्न सकेनन् । सुसान्त मोदानीले २५ रन मात्र बनाए । मध्य क्रमका ब्याटर कप्तान मोनाक पटेलले ५२, संजय कृष्णमुर्तीले ४९ र उत्कर्ष श्रीवास्तवाले ६७ रन बनाएपनि जितका लागि पर्याप्त भएन् ।
ज्याक जार्भिसले ४, ब्रेड करी र मार्क वाटले २-२ विकेट हात पारे । अघिल्लो खेलमा नेपाल संग पराजित भएको स्कटल्यान्डले उत्कृष्ट पुनरागमन गरेको छ ।
अमेरिका सिरिजमा उसको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा अमेरिकालाइनै स्कटल्यान्डले १० विकेटले हराएको थियो । अमेरिकाले भोली र स्कटल्यान्डले मंगलबार नेपाल सँग प्रतिस्पर्धा गर्नेछ ।