
काठमाडौै । नेपाली काँग्रेसका नेताहरुले सरकार निर्वाचनका लागि तयार नरहेको आरोप लगाएका छन् । पार्टी केन्द्रिय कार्यालयमा बोल्दै नेताहरु सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरेका हुन् । उनीहरुले काँग्रेसले सरकारले वातावरण बनाए निर्वाचनमा जाने निर्णय गरिसकेपनि अहिलेसम्ममको स्थितिमा निर्वाचनको वातावरण बन्न नसकेको बताए ।
काँग्रेस उपसभापति धनराज गुरुङले सरकारले निर्वाचनमय वातावरण बनाउन अझै नसकेकाले सांसदहरुले अर्को बाटो अपनाएर रिट दर्ता गरेको बताउनु भयो । उहाँले काँग्रेस निर्वाचनको पक्षमा रहेपनि त्यो वातावरण बनाउन सरकारले नसकेको उल्लेख गर्नुभयो । उहाँले पार्टीको महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने पनि बताउनु भयो ।
काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशन अलमलमा नरहेको र विगतको भन्दा भव्यताका साथ सम्पन्न हुने दाबी गर्नुभयो । उहाँले नियमित महाधिवेशन चाँडै हुने पनि बताउनु भयो । पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले ११ जिल्लाको क्रियाशिल सदस्यता टुंग्याउन बाँकी रहेको र छिटै टुंगिने बताउनु भयो । उहाँले पदाधिकारीहरुको पदावधिको समयसम्म महाधिवेशन हुने दाबी गर्नुभयो । उहाँले निर्वाचनमा सहभागी हुन काँग्रेस तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भयो । देश शुन्यतामा नजाओस् भनेर सर्वोच्चमा रिटसहित पुगेको बताउनु भयो । नेता अर्जुननरसिंह केसीले काँग्रेस अन्योलमा नरहेको र संस्थागत निर्णय गरेर निर्वाचनमा जाने भनिसकेको बताउनु भयो । उहाँले पार्टीको महाधिवेशन पनि तोकिएको समयभित्रै हुनुपर्ने बताउनु भयो । उहाँले यथास्थितिमा निर्वाचनमा जानु भनेको आत्महत्या गरे बराबर भएको जिकिर गर्नुभयो ।