प्रधानमन्त्री दाहाल मोदीको शपथ समारोहमा सहभागी हुन भारत प्रस्थान

जेष्ठ २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल मोदीको शपथ समारोहमा सहभागी हुन भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गर्नु भएको छ ।

प्रधानमन्त्री दाहाल दिउँसो साढे १ बजे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल वायु सेवा निगमको उडानमा नयाँ दिल्ली प्रस्थान गर्नु भएको हो । नयाँ दिल्ली प्रस्थान गर्नुअघि प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा पदस्थ सरकारी अधिकारीहरुले प्रधानमन्त्री दाहालको बिदाइ गरेका थिए ।

प्रधानमन्त्री दाहालको नेतृत्वको प्रतिनिधिमण्डलमा कानुनमन्त्री पदम गिरी, प्रधानमन्त्रीकी छोरी गंगा दाहाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत अधिकारी संलग्न हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री मोदीले शपथ लिएपछि आजै साँझ द्विपक्षीय भेटवार्ता हुने जनाइएको छ । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा हुन लागेको भ्रमण द्विदेशीय सम्वन्ध नवीकरणको अवसरका रुपमा हेरिएको छ । कांग्रेससँग गठबन्धन भत्काएपछि र वामपन्थी नेतृत्वमा नयाँ समीकरण बनेपछि उत्पन्न शंका मेटाउन प्रधानमन्त्री दाहालका सामु यो अवसर पनि हो ।

मोदीले पहिलोपटक प्रधानमन्त्रीको शपथ लिँदा २०१४ मा नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो । २०१९ मा दोस्रोपटकको शपथमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको थियो ।

मोदी तेस्रो कार्यकालका लागि लगातार प्रधानमन्त्री हुने दोस्रो भारतीय नेता बन्नुभएको छ। यसअघि स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले लगातार तेस्रो कार्यकाल सरकार सञ्चालन गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्किनु हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement