सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पनि दिए पदबाट राजीनामा

चैत्र २२, २०८० |टेकराज जोशी
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पनि दिए पदबाट राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा बहुमत पुर्‍याएर विश्वासको मत लिने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर आज साँझ राजीनामा बुझाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका सबै सांसदको साथ पाउने आसमा मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि दिउसो तीन बजे प्रदेशसभा बैठक आह्वान गरेका थिए । 

त्यसबीचमा दुईपटक बैठकको समय सार्न पनि लगाए । नागरिक उन्मुक्तिका सातै जना सांसद एक ढिक्का भएर उनलाई समर्थन गरे एक जना राप्रपा र एक जना स्वतन्त्रको गरी २७ मत पुग्ने अपेक्षामा मुख्यमन्त्री थिए । तर सो पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी पक्षधर सांसद कैलाश चौधरी र टीका थापा काठमाडौंबाट नआएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा शाह गत वर्षको माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

५३ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि २७ प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादीका सभामुखसहित ११, नेकपा एमालेका उपसभामुख सहित १०, नागरिक उन्मुक्तिका ७, समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ गरी ५२ प्रदेशसभा सदस्य छन् ।

नागरिक उन्मुक्तिका ५ जना रेशम र २ जना रन्जिताको पक्षमा छन् । नागरिक उन्मुक्तिको विवाद समाधान नभए सम्म सुदूरपश्चिममा कुनै पनि दलले सरकार बनाउन सक्ने अवस्था छैन ।

सम्बन्धित समाचार...

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए पदबाट राजीनामा


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।