मधेशमा मुख्यमन्त्री पाउनुपर्ने एमालेको जिकिर, जसपा सरकार टिकाउने दाउमा

फाल्गुन २९, २०८० |अनिल मिश्र
मधेशमा मुख्यमन्त्री पाउनुपर्ने एमालेको जिकिर, जसपा सरकार टिकाउने दाउमा

जनकपुर । अन्य प्रदेशमा केन्द्रको सत्ता समीकरण परिवर्तनको असर तत्कालै देखिए पनि मधेश प्रदेशमा भने एक सता पछि सरकार हेरफेरको चलखेल हुन थालेको छ । आइतबार केन्द्र सरकारमा जसपा सहभागी भएसँगै मधेशमा प्रदेश सरकार हेरफेरको भित्री कसरत सुरु भएको हो । नयाँ समीकरणमा आबद्ध दलहरूको मधेशमा सहज बहुमत छ, तर अहिलेसम्म कांग्रेसले सरकार छाडेको छैन । जसपाले आफैँले नेतृत्वमा निरन्तरता पाउनुपर्छ भनिरहँदा एमालेको पनि मुख्यमन्त्रीमा दाबी छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा आइतबार जसपा अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह सुडी सहभागी भएसँगै मधेश प्रदेशमा पनि सरकार पुनर्गठनको गृहकार्य सुरु भएको हो । दलहरू सरकारमा आउने र जाने भएसँगै ३ पटक विश्वासको मत लिन बाध्य मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई नयाँ गठबन्धन अनुसार अहिले पनि सहज बहुमत छ । तर, प्रदेश सरकारको नेतृत्वका लागि दलहरूको आ-आफ्नै  दाबी छ । 

प्रदेशसभाको पहिलो निर्वाचनमा ३७ प्रदेशसभा सदस्यसहित सबै भन्दा ठूलो दल बनेको जसपा अहिले १९ सिटमा सीमित भई तेस्रो बनेको छ । तर, प्रदेश स्थापनादेखि हालसम्म जसपाले नै मधेश सरकारको नेतृत्व गर्दै आएको छ । २०७४ को निर्वाचनमा ८ सिट सहित पाँचौँ दल बनेको एमाले २०७९ को निर्वाचनबाट २४ सांसद सहित पहिलो दल बन्न सफल भएको छ । त्यसैले एमाले प्रदेश समितिको बैठकले मधेश सरकारको नेतृत्व आफैँले पाउनुपर्ने निर्णय नै गरेको छ ।

प्रदेश सरकारको दोस्रो कार्यकालको सुरुवातमै मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा एमाले ३ मन्त्रालय सहित सहभागी थियो । त्यसपछि केन्द्रको सत्ता समीकरण फेरियो र कांग्रेस, माओवादी अनि जसपासहितको नयाँ समीकरण बन्यो । त्यसमा पनि सरोजकुमार यादवकै नेतृत्वमा प्रदेश सरकार निरन्तर रह्यो । अहिले केन्द्रमा नयाँ गठबन्धन बनेसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ तर मधेशमा भने अझै सरकार छाडेको छैन । प्रधानमन्त्रीले विश्वासको मत नलिँदासम्म मधेशमा कांग्रेस पर्ख र हेरको मुडमा छ ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा २२ सिटसहित प्रतिनिधित्व गरिरहेको कांग्रेसबाट हाल मधेश सरकारमा तीनजना मन्त्री छन् । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ जनाको समर्थन चाहिन्छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।