नागरिक उन्मुक्ति पार्टीमा श्रीमान्-श्रीमतीको शक्ति संघर्ष, पार्टीले उठाएका मुद्दा नै विसर्जनतर्फ

फाल्गुन २९, २०८० |टेकराज जोशी
नागरिक उन्मुक्ति पार्टीमा श्रीमान्-श्रीमतीको शक्ति संघर्ष, पार्टीले उठाएका मुद्दा नै विसर्जनतर्फ

धनगढी । पश्चिम तराईमा पहिचानको मुद्दा उठाएर गत निर्वाचनमा तीनै तहमा आफ्नो बलियो उपस्थिति जनाएको नागरिक उन्मुक्ति पार्टी विवादको भुमरीमा फसेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका ४, प्रदेशसभाका ७ र चार वटा स्थानीय तहमा चुनाव जितेको नागरिक उन्मुक्ति पार्टीको विवाद अहिले उत्कर्षमा छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रहेका उनका श्रीमान् रेशम चौधरीबीच सम्बन्ध चिसिएको छ । सत्ताको गोल चक्करमा फस्दा यो पार्टीले उठाएका मुद्दा विसर्जनको दिशामा पुगेका छन् ।

संविधान जारी हुनुअघि २०७२ भदौमा थरुहट प्रदेशको माग गर्दै भइरहेको आन्दोलनले टीकापुरमा हिंसात्मक रूप लियो । घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भयो । थरुहट आन्दोलनको नेतृत्व गरिरहेका रेशम भूमिगत भए । 

रमेशसहितलाई अभियुक्त बनाएर अदालतमा मुद्दा चल्यो । तर, फरार अवस्थामै रेशम २०७४ सालमा कैलाली-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । रेशमलाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनायो । रेशम जेलमा परे ।

२०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनालाई प्रमुख मुद्दा बनायो । पत्नी रञ्जिताले श्रीमान् र टीकापुर घटनामा जेलमा रहेकाहरूको न्यायलाई मुख्य मुद्दा बनाइन् । पार्टीले अप्रत्याशित सफलता पायो । कैलालीका १३ मध्ये ४ स्थानीय तह जित्दै पहिलो पार्टी बन्यो । प्रदेशसभाको चुनावमा सुदूरपश्चिममा ५ र लुम्बिनीमा २ सिट जित्यो । संघमा पनि कैलाली ३ र बर्दियाबाट एक सिट जित्यो ।

पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो गठबन्धन सरकारमा मन्त्री बनेकी पार्टी अध्यक्ष श्रेष्ठले सरकारलाई समर्थन गर्ने सर्तमा रेशमको सजाय राष्ट्रपतिबाट माफी गराइन् । तर, गत पुसमा भएको पार्टीको पहिलो महाधिवेशनबाट श्रीमतीलाई हटाएर रेशम सर्वसम्मत अध्यक्ष चुनिए । 

त्यसै बेलादेखि नै उनीहरुबीच दरार सुरु भयो । तर, निर्वाचन आयोगले रेशमलाई अध्यक्षको मान्यता दिएन र रञ्जिता फेरि अध्यक्ष भइन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै पार्टीभित्र रेशम दम्पतीको विवाद सतहमा आएको छ । दाहाल सरकारलाई समर्थन गर्दै रञ्जिता फेरि मन्त्री बन्ने कसरतमा लागिरहँदा रेशम भने कांग्रेसलाई समर्थन गर्दै सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार टिकाउने आड बनेका छन् । शक्ति संघर्षमा रहेका श्रीमान-श्रीमतीका कारण थरुहट आन्दोलनको जगमा उठेको पार्टीमा भने अहिले निराशा छाएको छ ।

तत्कालीन थरुहट आन्दोलनका नेता माधव चौधरी आफ्ना मुद्दा स्थापित गर्ने भन्दा पनि सत्तासँग नजिक भइरहन खोज्ने प्रवृत्तिले पार्टीको भविष्यमाथि प्रश्न उठेको बताउँछन् ।

पहिचानको मुद्दा उठाएर उदाएको नागरिक उन्मुक्ति पार्टीमा अहिले चुलिएको आन्तरिक कलहले कुन मोड लिने हो अहिले भन्न सकिँदैन ।

यो पनि...

नागरिक उन्मुक्तिमा रेशम र रञ्जिताबीच विवाद बढ्दा पार्टी बैठक अन्योल


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।