काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजिएको बताएका छन् ।
छैटौं सामाजिक सुरक्षा दिवस समारोहमा सोमबार उनले संघीय लोकतान्त्रिक गणतन्त्र तथा समाजवाद उन्मुख राज्यव्यवस्थाविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको बताए । इतिहास पछाडि नफर्किने कुरा स्पष्ट रहेको पनि उनको भनाइ छ ।
‘हुन त मानिसहरुले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको बिरुद्ध केहीँकतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सिर्जना गर्ने, अराजकता सृष्टि गर्ने कोसिस भएका छन्,’ उनले भने ।
उनले इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्ने दाबी गर्दै पछाडि फर्कनै नसक्ने बताए । प्रधानमन्त्री दाहालले यो परिवर्तनको बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पनि पछाडि फर्काउन नसक्ने दाबी गरे ।
‘इतिहासको चक्कालाई पछाडितिर धकेल्ने कोसिसहरु देखिएकै छ । तर तथ्य के हो भने इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्छ । पछाडि फर्कदैन । र, हामी जबसम्म यो परिवर्तनका बाहक राजनीतिक दलहरु, नेताहरु, संघ, संस्थाहरु, बुद्धिजीविहरु, नागरिकहरु, तपाईं-हामी सबै निजी क्षेत्र र सार्वजनिक क्षेत्रका व्यक्तित्वहरु रहन्छौं, इतिहास पछि फर्कंदैन, अगाडि नै बढ्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यो विश्वास पनि म तपाईंहरुलाई दिलाउन चाहन्छु । अहिले हामी नेपाललाई विश्व समुदायसामु हाम्रो हक अधिकार स्थापित गर्ने एउटा अभियानमा छौं । ’
मुलुकलाई गणतान्त्रिक व्यवस्थामा ल्याउन भूमिका निर्वाह गरेका राजनीतिक दल र नेताहरू मिलेर अगाडि बढ्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रका समस्या समाधान गर्न सरकारले पहल गरिरहेको दाबी गरे । त्यसका लागि राजनीतिक दल, अर्थविद्, निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर छलफल गरिएको उनले उल्लेख गरे ।
उनले लघुवित्त, सहकारी, बैंक ब्याजसँग सम्बन्धित अन्य समस्या सहजीकरण गर्दै अगाडि बढ्ने विश्वास पनि दिलाए । यसका साथै सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाउन सर्कुलर गरेको पनि उनले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले सरकारले सामाजिक सुरक्षा कोषलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप अघि बढाउने कुरामा सरकारले कुनै कमी हुन नदिने आश्वासन दिए ।