
सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त तथा स्थानीयले आइतबार जिल्ला अदालत अगाडि धर्ना दिएका छन्।
धर्नामा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले अनुसन्धानप्रति अविश्वास जनाउँदै निष्पक्ष र पारदर्शी प्रक्रिया अघि बढाउन दबाब दिएका छन्। गत फागुन २३ मा मृत्यु भएकी इनिसाको शव तीन साता बित्दासमेत उठ्न सकेको छैन ।
मृत्यु प्रकरणमा परिवारले सुरूदेखि नै शंका व्यक्त गर्दै आएको छ। पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै परिवारले पुनः अनुसन्धानको माग गरिरहेका छन्। इनिशाको शव प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। छोरीको मृत्युपछि नेपाल आएकोमा कम्पनीबाट पाएको बिदा सकिन थालेको बुबा ईन्द्रबहादुरले बताउनुभएको छ ।
प्रहरीले अहिलेसम्म घटनाका बारेमा खुलेर जानकारी नगराएका कारण छोरीले न्याय नपाउने हो कि भन्ने चिन्ता परिवारमा बढ्दै गएको छ । घटनाबारे सीआईबीसहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरिसकेको छ । यसैबीच अभियुक्तहरूलाई आज जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको छ भने उनीहरूको बयान लिने क्रम जारी छ । साेमबार थुनछेक बहस हुने बताइएको छ ।