
काठमाडौं । पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालसहितको सम्पत्तिबारे पनि अनुसन्धान अघि बढेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्रीहरू ओली, देउवा र दाहाल तथा उनीहरूका परिवारको सम्पत्तिमाथि पनि अनुसन्धान अघि बढाइएको हो । विभागले प्रारम्भिक अनुसन्धानमा कैफियत देखिएका तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्र पठाएको थियो।
२४ भदौमा भएको आगजनीका क्रममा पूर्वप्रधानमन्त्री देउवा र दाहाल तथा खड्काका घरबाट जलेका नोटका टुक्रा भेटिएका थिए। त्यसपछि उनीहरूमाथि अनुसन्धान अघि बढाउँदै विभागले विस्तृत अनुसन्धानका लागि सीआईबीलाई पठाएको हो।
यसैगरी दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा समेत अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ। पूर्वमन्त्री आरजु राणाका भाई भुषण राणामाथि पनि सँगसँगै अनुसन्धान अघि बढाइएको छ।
यसै क्रममा कांग्रेस नेता एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई आइतबार बिहान बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई पक्राउ गरेको हो। सीआईबीले खड्कालाई जरूरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको हो ।