
काठमाडौं । जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
गौरीबहादुर कार्की आयोगले दिएको प्रतिवेदनका आधारमा शनिबार पक्राउ परेका ओली र लेखकको म्याद थपका लागि बहस सुरू भएको हो । अदालतमा लेखक उपस्थित भए पनि ओलीलाई भने स्वास्थ्य अवस्थाका कारण भर्चुअल माध्यमबाट इजलाससमक्ष उपस्थित गराइएको हो ।
उनीहरूको म्याद थपका लागि न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ । दूवै जनालाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्नुपर्ने माग सरकारी पक्षको छ । दुवै जनाका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताहरू खम्मबहादुर खाती, हरिहर दाहाल, टीकाराम भट्टराई, गोपालकृष्ण घिमिरे र शेरबहादुर केसीलगायतले नाम टिपाएका छन् ।
गत भदौ २३–२४ गते जेन-जी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । त्यस घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै फौजदारी कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । शनिबार बिहान झिसमिसेमै प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपुरको कटुन्जेबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य जाँचको लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा चिकित्सकको सुझाव अनुसार त्यहीँ भर्ना गरिएको छ । लेखकलाई भने प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ ।