बालेन्द्रलाई माेदी र सहबाज शरिफकाे बधाइ

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
बालेन्द्रलाई माेदी र सहबाज शरिफकाे बधाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत र पाकिस्तानका प्रधानमन्त्रीहरूले बधाइ तथा शुभकामना दिएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । मोदीले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै शाहलाई न्यानो बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो । 

मोदीले बालेन्द्रको नियुक्तिले नेपाली जनताले उहाँको नेतृत्वमाथि राखेको गहिरो भरोसा र विश्वासलाई प्रतिविम्बित गरेको उल्लेख गर्नुभएको छ । जनमतको कदर गर्दै मोदीले बालेनको नेतृत्वमा नेपालले प्रगतिको बाटो तय गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको हो । 

यसैगरी, मोदीले आगामी दिनमा नेपाल र भारतबीचको मित्रता र सहकार्यलाई थप बलियो बनाउन आफू तयार रहेको पनि उल्लेख गर्नुभएको छ । दुवै देशका नागरिकको आपसी हित र फाइदाका लागि बालेनसँग नजिक रहेर काम गर्न आफू आतुर रहेको मोदीले उल्लेख गर्नुभएको हो । नयाँ प्रधानमन्त्रीसँगको सहकार्यले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र आपसी सहयोगलाई अझै नयाँ उचाइमा लिएर जाने मोदीको भनाइ छ।

यस्तै पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले पनि बालेन्द्रलाई प्रधानमन्त्री पदमा सपथ लिएसँगै बधाइ दिनुभएको हो । सन्देशमा उहाँले पाकिस्तानले नेपालसँगको आफ्नो वर्षौँ पुरानो र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्त्व दिने कुरा स्पष्ट पार्नुभएको छ । 

आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन आफू नयाँ प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्न आतुर रहेको शरिफले बताउनुभयो । उहाँले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सहकार्यलाई अझै विस्तार गर्दै आपसी हितका क्षेत्रमा सँगै अघि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो । 

यसका साथै, क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका साझा लक्ष्यहरू प्राप्त गर्नका लागि बालेनको नेतृत्वमा रहेको नेपाल सरकारसँग मिलेर अघि बढ्ने शरिफको भनाइ छ। दक्षिण एसियाली क्षेत्रमा शान्ति र विकास कायम गर्न दुवै देशका साझा एजेन्डा रहेको र त्यसलाई सार्थक बनाउन नयाँ नेतृत्वसँगको सहकार्य फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.