
हुम्ला । हिमपातका कारण सडक तथा पैदल मार्ग अवरूद्ध भएपछि हुम्लाको नाम्खा गाउँपालिकाका चारवटा मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारीहरू हेलिकप्टरमार्फत पुर्याइएको छ।
भौगोलिक विकटता र बाक्लो हिउँका कारण स्थलमार्गबाट आवतजावत सम्भव नभएपछि निर्वाचन आयोगको स्वीकृतिमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको हो । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार नाम्खा–६ अन्तर्गत लिमी क्षेत्रमा रहेका भृकुटी आधारभूत विद्यालय (जाङ), सुनखानी आधारभूत विद्यालय (हल्जी), हिमशिखर आधारभूत विद्यालय (तील) तथा नाम्खा–४ चाला स्थित हिमालय आधारभूत विद्यालय गरी चार मतदान केन्द्रमा सोमबार हेलिकप्टरबाट सामग्री ढुवानी गरिएको हो।
सिमकोटबाट मतपत्र, निर्वाचन सामग्री र खटिएका कर्मचारीहरू सुरक्षित रूपमा सम्बन्धित केन्द्रमा पुर्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यी चार मतदान केन्द्रका लागि २० जना निर्वाचन कर्मचारीसहित नेपाली सेना, नेपाल प्रहरी र म्यादी प्रहरीका ८२ जना सुरक्षाकर्मी गरी कुल १०२ जना जनशक्ति परिचालन गरिएको छ।
सदरमुकाम आसपासबाहेक अधिकांश मतदानस्थलमा कर्मचारी र सामग्री पुगिसकेको प्रजिअ रेग्मीले जानकारी दिनुभयो । लिमी जाने मुख्य दुई नाका नारा लेक र न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेकाले आवतजावत पूर्ण रूपमा बन्द भएको छ। चाला जाने घोडेटो बाटोसमेत हिमपातले पुरिएपछि जिल्ला सुरक्षा समितिले ती मतदान केन्द्रहरूलाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ। चारै केन्द्रमा गरी कुल ८३१ मतदाता रहेका छन्।