
काठमाडौं । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात् मौन अवधि सुरू हुँदैछ ।
मतदान अघिको ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ । निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्व रहन्छ । यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदातालगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।
कुनै पनि निर्वाचनमा उम्मेदवारी मनोनयन पछि औपचारिक रूपमा प्रचारप्रसार अवधि तोक्ने गरिन्छ । आयोगले ४ गतेदेखि १८ गते सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोकिने र यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने बताउनु भयो ।
निर्वाचन प्रचार अभियानलाई केवल विजयी हुने साधनका रूपमा मात्र नलिइ आम मतदाताको मन जित्ने संस्कारयुक्त प्रक्रियामा परिणत गर्नुपर्ने मान्यताअनुसार मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उम्मेदवार चयन गरून् भन्ने मनसायमा विश्वव्यापी रूपमा नै मतदान अघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको उहाँले बताउनु भयो ।
मौन अवधिका लागि तोकिएका आचरण अक्षरशः पालना गर्दा त्यसबाट राजनीतिक दल, उम्मेदवार एवं सरोकारवाला सबैबाट निर्वाचनको स्वच्छता र निष्ठा प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास आयोगले लिएको उहाँले स्पष्ट पार्नुभयो । प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।
मतदान हुने दिनको ४८ घन्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन पनि सम्बन्धित दललाई निर्देश गरेको छ । यो अवधिमा राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।
कार्यवहाक प्रमुख आयुक्त भण्डारीले प्रचार प्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट गरेको पाइए कारबाही हुने चेतावनी दिनुभयो ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान केन्द्र रहेको स्थान वरिपरि शान्ति भंग गर्ने वा निर्वाचन वातावरण बिथोल्ने गतिविधि गरे प्रचलित कानुनअनुसार कारबाही गरिने जानकारी दिनुभयो । यस अवधिमा कुनै सार्वजनिक प्रचारप्रसार, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचार, कुनै किसिमको सन्देश सम्प्रेषणलगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ ।
सार्वजनिक भोज भतेर गर्न, नाचगान, जुलुस प्रदर्शन, सभा, समारोह गर्न तथा हो-हल्ला गर्न पाइने छैन । भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने गरी शान्ति भंग गर्ने कुनै पनि गतिविधि भए संलग्नमाथि कारबाही हुने आयोगले जनाएको छ । यो अवधिमा मतदान केन्द्र निर्माणलगायत अन्य बाँकी व्यवस्थापकीय कार्य गर्ने समय प्राप्त हुने भएकाले आयोगका लागि पनि यो अवधिको महत्व रहन्छ ।
आयोगले मौन अवधिको आचारसंहिता अक्षरशः पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । साथै यो अवधिलाई मतदाताले शान्त भएर आफ्नो निर्णय गर्ने अवसरका रूप लिई सहज वातावरण निर्माणमा सहयोग गर्न सबैलाई अपील गरेको छ ।