
काठमाडौं । इरानी आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ ।
यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १-१ जना नागरिकको मृत्यु भएको जनाएको छ । त्यस्तै आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान, इरानलगायतका नागरिक रहेको रक्षा मन्त्रालयले जनाएको छ ।
घटनामा एक नेपाली नागरिकको मृत्यु भएको जानकारी पाएको यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिनुभयो । यूएई सरकारबाट मृत्यु भएकाहरूको परिचय प्राप्त भइनसकेको राजदूत क्षेत्रीले बताउनुभयो । यूएई रक्षा मन्त्रालयका अनुसार इरानतिरबाट १ सय ६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र हानिएको थियो ।
तीमध्ये १ सय ५२ वटा क्षेप्यास्त्रलाई निस्तेज पारिएको र १३ वटा समुद्रमा खसेको पनि रक्षा मन्त्रालयको भनाइ छ । त्यस्तै दुई वटा क्रुज मिसाइल र ५ सय ४१ वटा ड्रोन पनि प्रहार गरिएको रक्षा मन्त्रालयले जनाएको छ । अधिकांश ड्रोनलाई निस्तेज पारिए पनि २१ वटा ड्रोन भने सर्वसाधारण भएका ठाउँमा खसेको जनाइएको छ ।