रंगहरुको पर्व होली आज पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

फाल्गुन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
रंगहरुको पर्व होली आज पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व साेमबार पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । 

यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीन कालदेखिको परम्परा छ । यस पर्वका अवसरमा साेमबार काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । 

उक्त चिरमा राखिएका ध्वजा-पताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजा-पताकासाथ सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । 

साेमबार राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । तराईका जिल्लामा मङ्गलबार नै सरकारले सार्वजनिक बिदा दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.