निर्वाचनका लागि तीन दिन बाँकी : आज राति १२ बजेदेखि मौनअवधि सुरु हुने

फाल्गुन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनका लागि तीन दिन बाँकी : आज राति १२ बजेदेखि मौनअवधि सुरु हुने

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन बाँकी छ । 

चुनावी गतिविधि तिव्र पारेका दलहरूले साेमबार अन्तिम प्रचारप्रसार गर्दैछन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार साेमबारराति १२ बजेबाट दलहरूले प्रचारप्रसार गर्न पाउँदैनन् । साेमबार मध्यरातिबाट मौन अवधि प्रारम्भ भएपछि प्रचार निषेध हुने आयोगले जनाएको छ। 

निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगले गृह मन्त्रालयलाई निर्देश समेत दिएको छ। मतदानका दिन पास प्राप्त गरेकाबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । २० फागुनको मध्यरातिदेखि २१ फागुनमा मतदान सम्पन्न नभएसम्म देशैभर सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

फागुन २१ गते मतदानको दिन मतदाताले आफ्नो मतदाता परिचयपत्र लिएर जानुपर्ने आयोगले भनेको छ। मतदाता परिचयपत्र नभएको खण्डमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, चालक अनुमतिपत्र वा जग्गाधनी पुर्जा लिएर मतदान केन्द्रमा जान सकिने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब साढे तीन लाख सुरक्षाकर्मी र दुई लाखभन्दा बढी कर्मचारी खटिने भएका छन्। २१ फागुनको बिहान ७ देखि बेलुकी ५ बजेसम्मलाई मतदान समय तोकिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीबाट करिब ३ लाख ३९ हजार सुरक्षाकर्मी खटिनेछन्।

सरकारले निर्वाचनलाई लक्षित गरी मतदानअघि, मतदानका दिन र मतदानपछि गरी तीन तहको सुरक्षा रणनीति बनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.