अढाइ वर्षपछि पनि टहरामै जाजरकोटका बासिन्दा : चुनावी नाराभन्दा सुरक्षित आवासको पुकार

फाल्गुन १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
अढाइ वर्षपछि पनि टहरामै जाजरकोटका बासिन्दा : चुनावी नाराभन्दा सुरक्षित आवासको पुकार

जाजरकोट । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जनधनको ठूलो क्षति गरायो । 

६७ हजार १ सय ७४ घर परिवार प्रभावित हुनुका साथै १ सय १ जनाले अकालमै ज्यान गुमाउनु पर्यो, २४ हजार ७ सय ४ घरमा आंशिक क्षति भयो भने ९ हजार ७ सय ९४ घर पुर्ण रूपमा क्षति भए । भूकम्पको घाउ अझै आलै छ । यही बेला प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरू मत माग्दै विकासका सपना देखाएर नागरिकलाई आश बाँडिरहेका छन् । 

ठीकविपरीत जाजरकोटका भूकम्पप्रभावितहरू भने दुई वर्षपछि पनि केवल सुरक्षित आवास मागिरहेका छन् । देशभर उम्मेदवारहरू मत माग्दै घरदैलो गरिरहेका छन् । तर जाजरकोटका भूकम्पप्रभावितका भने न घर छ न दैलो । कहिले बर्खा त कहिले ठन्डी, कहिले पोल्ने घाम त कहिले अनेक प्रतिकूल यामसँग हारिरहेका यी भूकम्पप्रभावितहरूलाई आउँदो चुनावमा कसले जित्छ, कसले हार्छ भन्नेसँग खासै मतलब छैन । 

उनीहरूका लागि चुनावभन्दा ठूलो मुद्दा सुरक्षित र स्थायी आवास हो । भूकम्प गएको करिब अढाइ वर्ष हुनै लाग्दा पनि नलगाड नगरपालिका-१ कल्पतका तीन सय बढी नागरिकहरू अस्थायी टहरामै छन् । पालिकाका ७ सय ५२ जनाले त अझै अस्थायी आवास निर्माण गर्दाको दोस्रो किस्ता समेत पाएका छैनन् ।

सरकारको ढिलासुस्तीका कारण स्थायीको त कुरै छोडौँ, ऋण खोजेर, भएका बस्तुभाउ बेचेर उनीहरू आफ्नै व्यक्तीगत लगानिमा घर निर्माण गरिरहेका छन् । उनीहरू न आफ्ना जनप्रतिनिधिसँग खुसी छन्, न सरकारसँग । अरू त अरू आफूहरूको बिजोग हुँदासमेत आफैँले जिताएर पठाएका प्रतिनिधिले एकपटक फर्केर नहेरेको उनीहरूको गुनासो छ ।

विश्व अर्थतन्त्र र विकासका अनेक आयाम बुझेका विज्ञहरूले बनाएका राजनीतिक दलका घोषणा पत्रमा भूमिहीन, आवासविहीनहरूलाई ठूला ठूला सपना बाँडिएका छन् । तर यस्तो लाग्छ, संसार बुझेका दलका विज्ञहरूले आफ्नै नागरिकको यथार्थ भने बुझेकै छैनन् । जाजरकोटका यी नागरिकलाई कसले बनाइदेला सुरक्षित घर ? कसले देला सम्मानजनक जीवन ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.