
काठमाडौं । फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै रोजगारी र अध्ययनको सिलसिलमा विदेशिएका नेपालीहरू फर्किन थालेका छन् ।
स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा भेटिएका अधिकांश फागुन २१ को मतदानका लागि उत्साहित देखिन्थे । तर, निर्वाचनकै मुखमा विदेशिनेहरू पनि कम छैनन् । जेन-नी आन्दोलनपछि गठित सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन आउन ५ दिन मात्र बाँकी छ ।
पढ्न वा कमाउनका लागि विदेशिएका नेपालीहरू कति पूर्वनिर्धारित योजनाअनुसार र कतिपय बलजफ्ति बिदा मिलाएर स्वदेश फर्किएका हुन् । कामको सिलसिलामा विभिन्न देशमा पुगेका उनीहरू स्वदेश फर्केपछि निर्वाचनमा आफ्नो अभिमत जाहेर गर्न पाउँने भन्दै खुसी देखिएका छन् ।
हवाई मार्गबाट मात्र होइन छिमेकी मुलुक भारतमा रोजगारी र अध्ययनका सिलसिलमा गएकाहरू समेत बिदा मिलाएर फर्किन थालेका छन् । त्यसो त अध्ययन वा कामको सिलसिलामा अहिले पनि विदेशिने नेपालीहरूको चाप बाक्लो नै छ । स्वदेशमा राम्रो रोजगारी र शिक्षाको अभावमा विदेश जान बाध्य भएको भन्दै उनीहरूले निर्वाचनमा सहभागिता जनाउन नसकिएकोमा दु:खेसो गरेका छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन विभागका अनुसार पछिल्लो समय दैनिक पाँच हजारभन्दा बढी प्रवासी नेपालीहरू भित्रिरहेका छन् भने दैनिक दुई हजारको हाराहारिमा विदेशिने गरेका छन् ।