
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन मतदानका लागि पाँच दिन मात्रै बाँकी रहँदा दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् ।
निर्वाचन आयोगले देशभर सुरक्षा व्यवस्था सन्तोषजनक रहेको जानकारी दिएको छ । आयोगले पत्रकार सम्मेलन गरेर केही छिटफुट घटनाबाहेक अन्य अवस्था सामान्य र सन्तोषजनक रहेको सुरक्षा निकायले ब्रिफिङ गरेको जानकारी दिएको हो । राजनीतिक दल तथा उम्मेदवारले गरेको निर्वाचन प्रचारप्रसारका क्रममा पनि केही साना घटनाबाहेक अवस्था सामान्य रहेको छ ।
मतदानपूर्व र मतदातनको दिन सुरक्षा व्यवस्था प्रभावकारी बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको निर्णयअनुसार सरकारलाई आचारसंहिता पालनामा गराउन आयोगले निर्देशन दिएको छ । आयोगले पनि विभिन्न जिल्लामा परेका उजुरी फर्स्योट गरेको जनाएको छ ।
जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष एक हजार ७६ उजुरी परेको बताइएको छ । आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फर्छ्याैट भएका छन् । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।
प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झन्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ । यस्तै, सामाजिक सञ्जालको दुरूपयोग गरेको, डीजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ ।
त्यसैगरी शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झन्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेकोलगायत छन् । त्यसैगरी फागुन २१ गते मतदानको दिन मौसम सफा रहने आयोगले जनाएको छ ।
अहिले केही ठाउँमा हिमपात भए पनि मतदानको दिन मौसम सफा रहने मौसम विभागले पूर्वानुमान गरेको आयोगको भनाइ छ । आयोगले निर्वाचनमा खर्च गर्न दल तथा उम्मेदवारले छुट्टै बैंक खाता खोल्नपर्ने व्यवस्था गरेको थियो । जस अनुसार हालसम्म ११ वटा राजनीतिक दल र १ हजार ६ सय १७ उम्मेदवारले मात्रै छुट्टै खाता खोलेका छन् ।
आयोगले यसपटक छिटो मतपरिणाम सार्वजनिक गरिनेसमेत बताएको छ । उसले छिटो मतपेटिका संकलन गर्ने, मतदान सकिएकै दिन मतगणना सुरू गर्ने र छिटो गणना गर्ने तयारी गरेको छ ।