काभ्रेको महाभारत र खानीखोला हुँदै हेटौंडा जोड्ने प्रादेशिक राजमार्ग निर्माण जारी

नागरिक अझै पूर्ण लाभबाट भने वञ्चित, निर्माणाधीन सडक, विद्युत र इन्टरनेटले दैनिकी फेरिँदै
फाल्गुन १५, २०८२ |पुजन धिताल
काभ्रेको महाभारत र खानीखोला हुँदै हेटौंडा जोड्ने प्रादेशिक राजमार्ग निर्माण जारी

काभ्रे । काभ्रेको महाभारत र खानीखोला गाउँपालिकाको केन्द्र हुँदै बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने प्रादेशिक राजमार्ग कतै कालोपत्रे भइसकेको छ भने कतै बजेट अभावमा अलपत्र छ । 

राजमार्गले दिने खुसी नागरिकले पूर्ण अनुभूति गर्न पाइसकेका छैनन् । तथापि, सडक पूर्वाधारसँगै आएको केन्द्रीय विद्युत् लाइन तथा विस्तार हुँदै गएको इन्टरनेट सेवाले भने यी पालिकाका स्थानीयको दैनिकी सहज बन्दै गएको छ ।

सडक पूर्वाधारले कतिसम्म कायापलट हुनसक्छ भन्ने उदाहरण हुनुहुन्छ, महाभारत गाउँपालिका-५ का देव तामाङ । कुनै समय घरको लागि नुनतेल गर्न पनि हिँडेरै सदरमुकाम पुग्नुहुने तामाङले अहिले गाउँमै खाजा पसल थाप्नुभएको छ । आवश्यक रसदपानी निर्माणाधीन जनमुक्ति मार्गमा चल्ने सवारीले पसलसम्मै ल्याइदिने गरेको छ । 

सडकसँगै आएको बिजुली र इन्टरनेट सेवाले तामाङजस्ता थुप्रैको जीवनमा नसोचेको बदलाव ल्याएको छ । रोशी गाउँपालिकाको पिङ्गथली-रजबास हुँदै महाभारत गाउँपालिकाको चारकिल्ला-तीनखुट्टे-देवीटार-गोकुले तथा खानीखोला गाउँपालिकाको तालढुङ्गा भएर मदन भण्डारी लोकमार्ग जोड्ने यो जनमुक्ति प्रादेशिक राजमार्गको लम्बाइ करिब ८० किलोमिटर छ । हाल चार खण्डमा छुट्टाछुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ ।

हाल रजबास-तीनखुट्टे खण्डमा पर्खाल, नाली तथा सडक ढलानका लागि फलामे छड बिछ्याइएको छ । तीनखुट्टे-देवीटार खण्डका केही स्थानमा कालोपत्रेका लागि बेस हाल्ने काम भइरहेको छ । त्यस्तै गोकुले, धापलगायतका स्थानमा नाली, पर्खाल निर्माण गर्दै कालोपत्रेको तयारी भइरहेको छ ।

सुरुमा पालिका केन्द्रलाई जिल्ला सदरमुकामसँग जोड्ने उद्देश्यले अघि बढाइएको यो योजनालाई पछि महाभारत र खानीखोलाका स्थानीयसम्म सहज यातायात सुविधा पुर्‍याउनेमा रूपान्तरण गरिएको थियो । प्रदेश राजधानी हेटौंडा जान कठिन भइरहेको अवस्थालाई मध्यनजर गर्दै योजना थप विस्तार गरियो ।

२०७९ असारमा सम्पन्न गर्ने लक्ष्यसहित तीनखुट्टे-खोलाघारी-देवीटार ८.७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको श्रेष्ठरसक्षम जेभी सामाखुसीले लामो समय आयोजनालाई अलपत्र पारेको थियो । तर पालिका र प्रदेश सरकारको निरन्तर दबाबपछि भने पटक पटक म्याद थप गरेर पछिल्लो समय तीव्र गतिमा काम अघि बढिरहेको छ ।

त्यस्तै, रजबास-चारकिल्ला-तीनखुट्टे खण्डको कामले पनि अहिले गति लिएको छ । निर्माण कम्पनी सन्तोषी धर्मश सक्षम जेभीका सम्पर्क प्रबन्धक सुजन गिरीका अनुसार करिब ९५ प्रतिशत संरचनागत काम सम्पन्न भइसकेको छ । १५.५ किलोमिटरमध्ये ११ किलोमिटर कालोपत्र र करिब ४.५ किलोमिटर ढलानको काम भइरहेको छ । 

आगामी असारसम्म काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार आगामी असारभित्र पालिकाअन्तर्गत पर्ने करिब ४४ किलोमिटर सडक निर्माणसम्पन्न हुनेछ । नागरिकको दैनन्दिन र जीविकोपार्जनमा ठूलो असर पार्ने यस्ता अति आधारभूत योजना समयमै सम्पन्न गर्न सरोकारवालाको निरन्तर खबरदारी आवश्यक भने छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।