
काठमाडौं । फागुन २१ को निर्वाचनका लागि उम्मेदवारहरू अनौठा र फरक शैली अपनाएर मत मागिरहेका छन् ।
मतदातासँग नजिकिने नाममा उनीहरू कहिले श्रमिक, कहिले किसान त कहिले कलाकारको भूमिकामा प्रस्तुत भइरहेका छन् । यस्तो गर्नेमा नयाँ दल र नयाँ उम्मेदवार मात्र होइन, पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसम्म अग्रपंक्ति छन् । उम्मेदवारहरू नीति, योजना र प्रतिबद्धताभन्दा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएका छन् ।
निर्वाचनमा फरक शैली अपनाएर मतदाता फकाउने अग्रपंक्तिमा देखिनुहुन्छ आम जनता पार्टीबाट रौतहट-४ का उम्मेदवार ऋषि धमला । कहिले होटलमा जेरी पकाउँदै, कतै खेतमा उखु बोक्ने त कहिले चटपटे बनाउनेदेखि सिकर्मी बनेर उहाँ मत मागिरहनुभएको छ । त्यतिमात्र नभइ भेटिएका सर्वसाधारणलाई आफैंले लगाएको माला लगाइदिने र अंगालो हाल्ने उहाँको शैली अहिले सामाजिक सञ्जालमा भाइरलमात्र नभइ ट्रोल बनेको छ।
अर्का पात्र हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट नुवाकोट-२ का उम्मेदवार अच्युतम लामिछाने। गलामा फूलको माला र राष्ट्रिय झन्डा ओढेर भोट माग्दै हिँड्ने उहाँ मतदाता देख्नेबित्तिकै हात जोडेर सडकमै लम्पसार परेर ढोग्न थाल्नुहुन्छ । उहाँको यो शैली देखेर मतदातामात्र नभइ बटुवासमेत अचम्ममा पर्छन् ।
यता धादिङ क्षेत्र नम्बर १ की रास्वपा उम्मेदवार आशिका तामाङको मत माग्ने शैली झन् अनौठो छ । तामाङले घरदैलो अभियानमा कुखुराको भालेसँग मत मागिरहेका दृष्य सामाजिक सञ्जालमा देख्न पाइन्छ । उम्मेदवारहरूले सुट लगाएर बारी खनेकादेखि घरमा पसेर मोही पारेका दृश्यसमेत सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।
रास्वपाबाट गोरखा १ का उम्मेदवार सुधन गुरुङ एउटा पसलमा छिरेर डमिलाई नमस्कार गरेको दृष्यले पनि सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको छ । अनि, उहाँचाहिँ बाँके-३ का रास्वपाका उम्मेदवार खगेन्द्र सुनार हुनुहुन्छ। मतदाताको घरमा पुगेर आश्चर्यजनक तरिकाले आशिर्वाद लिँदै खुट्टा ढोग्ने उहाँको शैली पनि मतदाताका लागि अनौठो दृष्य बनेको छ।
यी त भए केही नयाँ उम्मेदवारका शैली । लोकप्रियताका लागि जनताका मूल मुद्दा भन्दा पनि फरक गतिविधि गर्नेमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसमेत अग्रपंकितमा हुनुहुन्छ । तह तहका सुरक्षा घेरा, अघिपछि गाडीका ताँती लगाएर हिड्ने दाहाल अहिले विभिन्न ठाउँमा मयूर नाचमा कम्मर मर्काउनेदेखि दलबलसहित मर्निङ्वाकमा पनि देखिनुहुन्छ ।
त्यस्तै प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बन्नुभएका पूर्वमन्त्री जनार्दन शर्मासमेत मयुर नाचदेखि दमाहा बजाएर मतदाता रिझाउन व्यस्त देखिनुहुन्छ । निर्वाचनमा नागरिकका प्राथिमकतामा बहस र प्रतिबद्धता जनाउनुपर्ने बेला उम्मेदवारहरू सामाजिक सञ्जालकेन्द्रित लोकप्रियतामा रमाइरहेका छन् ।
उम्मेदवारका यस्ता गतिविधिले चुनावी बहसलाई शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन जस्ता आधारभूत मुद्दाबाट विमुख गराउँदै व्यक्तिगत लोकप्रियता र सामाजिक सञ्जालको खपतमा मात्र सीमित भइरहेका छन् ।