
काठमाडौं । राजनीतिक विश्लेषक सीके लालले शक्तिको बलमा शासन चलाउने सिद्धान्त नेपालमा अझै रहेको बताउनुभएकाे छ ।
कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणमा सोमबार ‘नेपाली क्रान्तिको यात्रा : विगतको विवेचना, आगतको आकलन’ संविधान र कानुनअनुसार राज्य सञ्चालन हुनुपर्ने भए पनि शक्तिको बलमा शासन चलाउने सिद्धान्त नेपालमा अझै रहेको बताउनुभएकाे हाे ।
उक्त सत्रमा विश्लेषक लालले पृथ्वीनारायण शाह र जंगबहादुर राणाले गरेको अभ्यास अहिले पनि कायमै रहेको बताउनुभयाे । 'पृथ्वीनारायण शाहको समय १८औँ शताब्दीको अन्ततिर काठमाडौं विजयपश्चात् शक्ति हुनेले आफूअनुकूलको सत्ता चलाउन पाउँछ भन्ने मान्यता स्थापति भयो । त्यो मान्यता नेपालबाट अहिलेसम्म पनि गएको छैन,' लालले भन्नुभयाे, 'शक्ति जसको छ, त्यसलाई बलियो बनाइदिए जंगबहादुरले मध्य १९औँ शताब्दितिर । यो शक्तिको सिद्धान्त बलियो भएर हाम्रो इतिहासले हाम्रो मानसिकता निर्माण गरेको छ, जसलाई इतिहासविद्हरूले महान् व्यक्तिहरूको कथाको रूपमा भन्छन् । त्यसबाट अझै पनि निस्किन सकेका छैनौं ।'
लालले कुनै पनि नागरिकको मनस्थिति उसको भूगोल, इतिहास, अर्थतन्त्र तथा उत्पादन प्रणाली र संस्कृतिबाट निर्धारण हुने बताउनुभयाे । 'परिवर्तन स्वाभाविक हो । परिवर्तन खोजिराख्नु पर्दैन । खोज्नुपर्ने कुरा चाहिँ परिवर्तनको गति र दिशा कता छ भन्ने हो,' उहाँले भन्नुभयाे ।