आधा सिलिन्डर बिक्रीको निर्णय हुँदा पनि अझै हटेन ग्यास अभाव

फाल्गुन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
आधा सिलिन्डर बिक्रीको निर्णय हुँदा पनि अझै हटेन ग्यास अभाव

काठमाडौं । सरकारले ग्यास अभावको समस्या मत्थर पार्न आधा सिलिन्डर वितरणको नीतिगत निर्णय गरे अभाव झनै चुलिँदै गएको छ । 

कर्णाली प्रदेशसहित देशका पूर्वदेखि पश्चिमसम्मका जिल्लामा अभाव कायमै रहेको हो । उपभोक्ताहरूले ग्यास डिलर तथा पसलहरूमा धाउँदासमेत ग्यास पाउन कठिन भएको गुनासो गरेका छन् । कञ्चनपुरको महेन्द्रनगर, झलारी, बेलौरी, पुनर्वास तथा आसपासका क्षेत्रमा ग्यास पाउन लामो समय कुर्नुपर्ने अवस्था देखिएको छ । 

डिलरहरूका अनुसार पछिल्लो समय माग बढे पनि नियमित रूपमा पर्याप्त सिलिन्डर उपलब्ध नभएकाले उपभोक्तालाई सहज रूपमा वितरण गर्न कठिन भइरहेको छ । सटही गर्ने भन्दा नयाँ सिलिन्डर थप्ने ग्राहकको संख्या ह्वात्तै बढेको बिक्रेताहरूको भनाइ छ ।

आयल निगम र प्रशासन कार्यालयहरूले ग्यास आपूर्ति सामान्य रहेको बताउँदै अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरिरहे पनि वितरण प्रभावकारी बनाउन सकेका छैनन् । उता जुम्लाका नागरिकले पनि ग्यास पाउन पहिलोपटक लाइन बस्नुपरेको छ । 

जताततै ग्यास अभाव भइरहेकाले सिधै डिलरबाट वितरण गर्दा उपभोक्ता ठगिने सम्भावनालाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले ग्यास बोकेर आएको ट्रकबाटै वितरण गरेको छ । पहिलो दिन पाँच सय सिलिन्डर बाँडिएको छ भने आइतबार तीन सय ग्यास सिलिन्डर बाँड्ने तयारी छ। जुम्ला सदरमुकाम खलंगामा मासिक दुई हजार सिलिन्डरको माग छ ।

कर्णाली राजमार्ग सञ्चालनमा आएपछि सहजै रूपमा ग्यास आपूर्ति हुँदै आएको जुम्लामा यसपटक पाँच सय सिलिन्डर बाँडिएको हो। उता सुनसरीमा पनि ग्यास अभाव देखिएको छ । तीन उद्योग सञ्चालनमा रहेका सुनसरीमा पनि उपभोक्ताले अनावश्यक सिलिन्डर भण्डार गर्दा अभाव भएको ग्यास उद्योगीले बताएका छन् ।

प्रशासन कार्यालयहरूले आपूर्ति सहज रहेको दाबी गर्दै अनावश्यक भण्डारण नगर्न आग्रह गरिरहे पनि अझै अभाव देखिएको उपभोक्ताको गुनासो छ । यता काठमाडौं महानगरपालिकाले ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ ।

ग्यास हुँदाहुँदै पनि ग्राहकलाई नदिने, धेरै मूल्य असुल्ने र इन्धन डिपोहरूमा पनि छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि निगरानी संयन्त्र बनाइएको महानगरले जनाएको छ । ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाको हटलाइन नम्बर ११८० मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । 

यसरी प्राप्त विवरणका आधारमा निगरानी गरिने महानगरले जनाएको छ । ग्यास आपूर्ति सहज गर्न बिहीबार आयल निगमले आधा सिलिन्डर बिक्री गर्ने निर्णय गरेको थियो । तर, नियमनकारी निकाय उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र आयल निगमले बजार अनुगमन नगर्दा आपूर्ति अझै सहज भएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.