
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन आज गर्दैछ ।
कसैले मनोनयन फिर्ता लिन चाहेमा त्यसको प्रक्रिया पूरा गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आजै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिदैछ ।
निर्वाचन तालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिनसक्नेछन् । यस्तै आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
२१ फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ माघ ६ गते देशैभर उम्मेदवारी दर्ता गरिएको थियो । माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यसपछि विहीबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । कुल उम्मेदवारमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।
दुई सय ७५ सदस्यीयप्रतिनिधि सभामा समानुपातिक प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचनप्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।