
काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर शुक्रबार श्रीपञ्चमी पर्व मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने यस पर्वमा सरस्वती मन्दिरहरूमा पूजा गर्नेहरूको भिड लाग्छ ।
यो विद्या, बुद्धि, कला र संगीतको श्रीवृद्धिसँग गाँसिएको मौलिक पर्व हो । सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षा आरम्भ गर्ने प्रचलन छ । वसन्त पञ्चमीका दिन विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम राखेका छन् ।
संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग-कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।
श्रीपञ्चमीका अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वसन्त श्रवण गर्ने कार्यक्रम छ । वसन्त श्रवणमा उपराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू पनि सहभागी हुने चलन छ ।
ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ ।