
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
उहाँले मंगलबार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । मनोनयनका लागि ओली सोमबार नै झापा जानुभएको थियो । मनोनयन दर्ताअघि उहाँले जेन-जी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको अवलोकनसमेत गर्नुभयो ।
झापा-५ ओलीको गृह क्षेत्र हो । जहाँ उहाँले यसअघिका निर्वाचनहरूमा लगातार विजय हासिल गर्नुभएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले पनि मनोनयन दर्ता गराउनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा-५ उच्च चर्चामा रहेको क्षेत्र बनेको छ ।