
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मंगलबार तोकिएको समयमा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेले मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये आफूले चाहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्न अनुरोध गर्नुभएको हो । मनोनयन पत्रसँगै फारम भरेर पेस गर्न पनि उहाँले अनुरोध गर्नुभयो । फारम आयोगको वेबसाइटमै राखिएको छ । आयोगको वेबसाइटमा ‘वर्ड डकुमेन्टको फाइल’ पनि राखिएको जानकारी सूचना अधिकारी घिमिरेले दिनुभयो ।
मनोनयन पत्रसँगै स्वघोषणा पत्र, निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसारको प्रतिबद्धता पत्र, व्यक्तिगत विवरण र सम्पत्ति विवरण पनि तयार पारेर पेस गर्न आयोगले उम्मेदवार बन्न चाहने सबैलाई ध्यानाकर्षण गराएको छ । त्यसैगरी धरौटी बुझाएको रसिद पनि मनोनयन पत्रसँगै राखेर पेस गर्न आयोगले आह्वान गरेको छ ।
मंगलबार बेलुकी ५ बजेसम्म १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिएर लाममा बस्नेलाई दर्ता गर्न दिइने आयोगको सहायक प्रवक्ता कुलबहादुर जिसीले बताउनुभयो । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि आह्वान गरिसकेको छ । मंगलबार बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम छ ।
माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदेवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।