
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले सोमबार नै सबै क्षेत्रको उम्मेदवार टुंग्याउने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएर सार्वजानिक गर्ने बताउनुभएको हो । उहाँले देश अब निर्वाचनतर्फ अगाडि बढेको बताउनु भयो । निर्वाचनको लागि राप्रपा पूर्ण तयार भएको पनि उहाँले बताउनु भयो । उहाँले आगामी निर्वाचनलाई आन्दोलनको अभिन्न अंगको रूपमा प्रयोग गर्ने बताउनु भयो । उहाँले आगामी निर्वाचनलाई नेतृत्व परिवर्तनको मात्रै नभइ व्यवस्था परिवर्तनको लागि सदुपयोय गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशको राष्ट्रवादी शक्तिको नेतृत्व राप्रपाले मात्रै गर्ने पनि दाबी गर्नुभयो । राजसंस्था, सनातनी हिन्दूराष्ट्र र राष्ट्रवादी मान्यतालाई अंगाल्ने शक्तिहरू राप्रपामा धुव्रिकृत भइरहेको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार गजेन्द्र बुढाथोकी, कानुन व्यवसायी भद्रप्रसाद नेपाललगायत राप्रपामा प्रवेश गरेका थिए । बुढाथोकी राप्रपाको समानुपातिक सूचीमा छन् भने नेपाललाई झापा क्षेत्र नम्बर २ बाट राप्रपाले उम्मेदवार बनाउने भएको छ ।