
धनकुटा । कोशी प्रदेशका हिमाली र पहाडी जिल्लामा निर्वाचन सुरक्षा प्रहरीका लागि दरखास्त आवेदन दर्ताको समय थप गरिएको छ ।
जिल्लाका लागि निर्धारित संख्या भन्दा पनि कम आवेदन दर्ता भएपछि दुई दिन समय थप गरिएको हो । निर्वाचन प्रहरीमा भर्नाका लागि उम्मेदवारले आवेदन दिने म्याद पुष २५ देखि माघ १ गते बिहीबारसम्मका लागि तोकिएको थियो । तर कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र संखुवासभाबाहेकका ९ जिल्लामा निर्धारित कोटा भन्दा पनि कम आवेदन परेपछि दुईदिन म्याद थप गरिएको हो ।
कोशी प्रदेशका लागि नेपाल र शसस्त्र प्रहरीमा समेत जम्मा २५ हजार ९ सय ७५ निर्वाचन सुरक्षा प्रहरीको कोटा निर्धारण गरिएको छ । जसका लागि बिहीबारसम्म दुबै संगठनमा जम्मा २७ हजार ५ सय ५३ जना उम्मेदवारको आवेदन दर्ता भएको छ । कोशी प्रदेशका १४ जिल्लाका लागि नेपाल प्रहरीले लिने २३ हजार ४ सय २४ निर्धारित कोटा मध्ये १ हजार ९ सय ९२ जना अपुग छ । यस्तै शसस्त्र प्रहरी तर्फको २ हजार ५ सय ६१ कोटामा ९ सय १९ जना अपुग छ ।