
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरू निर्वाचन आयोगमा उपस्थित भएर आफूहरू नै आधिकारिक भएको जानकारी गराएका छन्।
उनीहरूले ८ सयभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशनबाट हस्ताक्षर फिर्ता लिएको पनि दाबी गरेका छन् । नियमित महाधिवेशनको पक्षमा रहेको उक्त समूहबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ८ सय ८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशनबाट बाहिरिएको भन्दै आयोगलाई जानकारी पनि गराउनुभयो ।
नेता शेखर कोइरालाले बहुमत केन्द्रीय सदस्य अहिले पनि आफूहरूसँग रहेको दाबी गर्दै गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गर्नुभयो । कांग्रेस संस्थापन पक्षको निवेदन बुझेसँगै निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले संविधान, आयोगको कानुन तथा विधि र विधानअनुसार आधिकारिकता निर्धारण गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समिति चयन गरेसँगै कांग्रेस विभाजित छ । दुबै पक्षले आधिकारिकता दाबी गरिरहेका छन् । विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा पक्षले बिहीबार आधिकारिकता माग्दै आयोगमा निवेदन दिएको थियो ।
दुबै पक्षले निवेदनसहित छिटो टुग्याउन भनेपछि आयोग पनि दबाबमा छ । पार्टीमा विकसित घटनाक्रमका विषयमा जानकारी दिन देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अहिले केहीबेरमा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । यसैबीच गगन थापा पक्षधर नेताहरु फेरि पनि निर्वाचन आयाेग पुग्दै छन् ।