
महोत्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि महोत्तरीको जलेश्वरमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचनसम्बन्धी उम्मेदवारी दर्ता, कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, प्रशासनिक काम-कारबाही, मतगणनालगायत निर्वाचनसँग सम्बन्धित कामहरू सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला अदालत महोत्तरीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत माधव प्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रूपमा उदघाटन गर्नु भएको छ ।
यसैका साथै निर्वाचन क्षेत्र १ को लागि बर्दिबास उद्योग वाणिज्य संघको कार्यालय, निर्वाचन क्षेत्र २ को लागि आधारभूत अस्पतालको भवन बलबा नगरपालिका ७ बनौटा र निर्वाचन क्षेत्र नं ४ को लागि महेन्द्र मावि रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनु भएको छ ।
निर्वाचन क्षेत्र नं ३ को भने मुख्य निर्वाचन अधिकृतकै कार्यालयबाट कामकाज हुने जनाइएको छ । सो निर्वाचन क्षेत्रहरूमा क्रमश: क्षेत्र नं १ को लागि गगनदेव महतो , क्षेत्र नं २ को लागि शोभाकर खरेल र क्षेत्र नं ४ मा नारायण प्रसाद चापागाईं निर्वाचन अधिकृत रहनु भएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवले निर्वाचनलाई स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । महोत्तरीमा ३४ हजार २५२ मतदाता थपिए पछि चार लाख ३१ हजार २८२ मतदता पुगेका निर्वाचन कार्यालय महोत्तरीले जानकारी दिएको छ । यसअघि ०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा महोत्तरीमा तीन लाख ९७ हजार ३० मतदाता रहेको थियो ।
जिल्ला निर्वाचन कार्यालयले २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दुई लाख ३५ हजार १८३ पुरूष, एक लाख ९२ हजार ९७ महिला र अन्य २ गरी कुल चार लाख ३१ हजार २८२ मतदाता रहेको जनाइएको छ। चार निर्वाचन क्षेत्रमा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख रञ्जिता झाले बताउनु भयो ।
महोत्तरीको क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ७२२ महिला र अन्य दुई गरी कुल एक लाख पाँच हजार ६४६ मतदाता रहेको र सोको लागि ५९ मतदानस्थल र १२० मतदान केन्द्र व्यवस्था गरिएको छ । क्षेत्र नम्बर २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला गरी कुल एक लाख सात हजार ५९४ मतदाता रहेको र सोको लागि ६२ मतदानस्थल तथा १३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यस्तै, क्षेत्र नम्बर ३ मा ५९ हजार ९५० पुरुष तथा ५० हजार ८८६ महिला गरी कुल एक लाख १० जार ४३६ मतदाता रहेको र सोको लागि ७७ मतदानस्थल र १४२ मतदान केन्द्र राखिएको छ । क्षेत्र नम्बर ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ७५६ महिला गरी कुल एक लाख ७ हजार ६०६ मतादाता रहेकोमा ६० मतदानस्थल १३१ मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख झाले बताउनु भयो ।
महोत्तरीको १६३ मतदानस्थललाई अतिसंवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य सुरक्षा अवस्थाको सूचीमा राखिएको छ।