कांग्रेस नेताहरू भन्छन् : ‘आयोगको निर्णयले आगामी निर्वाचन बिथोलिन हुन्न’

माघ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस नेताहरू भन्छन् : ‘आयोगको निर्णयले आगामी निर्वाचन बिथोलिन हुन्न’

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय गर्न नहुने बताउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न आयोगमा पुगेका सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले यस्तो बताउनुभएको हो । उहाँहरूले आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आफूहरूले उपलब्ध गराएको कागजातको आधारमा नै निर्णय गर्ने विश्वास गर्नुभयो । 

कांग्रेसको आधिकारिकता आफूहरूले पाउने र छुट्टिएर गएकाहरू पनि मूलधारमा नै फर्किने नेताहरूको विश्वास छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचन हुने कि नहुने आशंका भइरहेको बेलामा थप जटिल परिस्थिति उत्पन्न हुनेगरी निर्णय गर्न नहुने बताउनुभयो । 

उहांले कांग्रेस चुनावको लागि पूर्णरूपमा तयार भएर जिल्ला जिल्लामा खटिइसकेको बताउनु भयो । सिन्धुपाल्चोकमा आफूहरूले चुनावी सभा समेत थालेको उहाँको भनाइ छ । यस्तो स्थितिमा आयोगले संविधान विपरित, कांग्रेसको विधान विपरित निर्णय गरेमा देशमा निर्वाचनको प्रक्रिया नै बिथोलिने उहाँले बताउनु भयो । निर्वाचन बिथोलिएमा त्यसको जिम्मेवारी आयोगले लिनुपर्ने उहाँको भनाइ छ । उहाँले कसैको बहकावमा, दबाबमा र स्वार्थमा गलत निर्णय नगर्न पनि आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले पनि निर्वाचन आयोगले कानुन नियम, संविधान र विधानअनुसार आफूहरूको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कांग्रेस विभाजनलाई रोक्न अन्तिमसम्म प्रयास गरे पनि असफल भएको बताउनु भयो । 

विभाजनले निर्वाचनसँगै देशको राजनीतिमा पनि ठूलो असर पर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले सिंहदरबार, संसद्, सर्वोच्च अदालत जलाएजस्तै नेपाली कांग्रेसलाई पनि जलाएर प्रजातन्त्रलाई नै समाप्त पार्न केही तत्वहरू लागिरहेको उहाँले आरोप लगाउनुभयो । यसमा सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताउनु भयो । उहाँले प्रतिनिधि सभाको निर्वाचनको लागि माघ ६ गते मनोनयनको लागि देउवाले नै टिकट बाढ्ने दाबी गर्नुभयो । 

उहाँले शनिबारबाट नै सभापति देउवाले टिकट बाढ्न सुरू गर्ने जानकारी दिनुभयो । उहाँले कांग्रेस पार्टी विभाजन नभएको पनि बताउनु भयो । गगन थापा, विश्वप्रकाश शर्माहरूले अर्को पार्टी गठन नगरेकोले उहाँहरू पनि देउवाको हातबाट टिकट लिएर चुनाव लड्न जाने दाबी गर्नुभयो ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला लगायतका नेताहरू पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जानुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.