
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ता (जेन-जी)लाई निर्वाचनमा जिताउनुपर्छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
प्रधानमन्त्री कार्की तथा विभिन्न मन्त्रीहरूले सार्वजनिक भाषणहरूमा यस्ता खालको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको नेता पुनको भनाइ थियो । उहाँले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरूपयोग हुन नदिने कुरामा पनि निर्वाचन आयोगलाई ध्यान दिन सुझाव दिनुभयो ।
शुक्रबार निर्वाचन आयोगको आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन आचारसंहिता अनुगमनका लागि भरपर्दो मेकानिजमको व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिनुभयो । नेता पुनले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि सूचना प्रविधिको दुरूपयोग हुन नदिन पनि निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।