धनुषाको विदेह नगरपालिकामा सशस्त्र प्रहरीको मानवीय सहयोग

१४४ जनालाई कम्बल वितरण
पुस २०, २०८२ |अनिल मिश्र
धनुषाको विदेह नगरपालिकामा सशस्त्र प्रहरीको मानवीय सहयोग
धनुषा । शीतलहर र अत्याधिक चिसोका कारण जनजीवन कष्टकर भएको बेला सशस्त्र प्रहरीले धनुषाको विदेह नगरपालिकामा कम्बल वितरण गरेको छ । 

सशस्त्र प्रहरीको सिमा सुरक्षा गुल्म महिनाथपुरले भारतीय सिमानासँगै रहेको विदेह नगरपालिकाको ठाडी झिझा र दुहबी गोबराहीका जेष्ठ नागरिक, विपन्न, दलित, महिला र अशक्तसहित १ सय ४४ जना नागरिकलाई कम्बल वितरण गरेको हो । वडा नम्बर १ का अध्यक्ष संजय पाण्डे र २ का वडाध्यक्ष रामपुकार सहनीको उपस्थितिमा आफ्नो २५औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले कम्बल उपलब्ध गराएपछि जाडो छल्न मद्दत पुग्ने भन्द‌ै सहभागीहरूले खुसी व्यक्त गरे । 

सीमावर्ती क्षेत्रका नागरिकहरूसँग सशस्त्र प्रहरीको सम्बन्ध सुमधुर बनाउने योजनाअन्तर्गत कम्बल वितरण गरिएको गुल्मपति सुरेश कोइरालाले जानकारी दिनुभयो । तराईमधेशमा पुस महिनाको सुरूवातसँगै चलेको शीतलहर र चिसो हावाका कारण जनजीवन कष्टकर बनेको छ । 

शीतलहरबाट जेष्ठ नागरिक, बालबालिका, सुत्केरी महिला, दैनिक ज्यालादारी गर्ने मजदुर, विपन्न र असहाय सबैभन्दा बढी प्रभावित भएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।