जनकपुरलगायत मधेशका जिल्लामा पुनः शीतलहर सुरू, जनजीवन थप कष्टकर

बालबालिका र मजदुर बढी प्रभावित
पुस २०, २०८२ |अनिल मिश्र
जनकपुरलगायत मधेशका जिल्लामा पुनः शीतलहर सुरू, जनजीवन थप कष्टकर

धनुषा । जनकपुरलगायत मधेश प्रदेशका जिल्लामा पुनः शीतलहर सुरू भएपछि जनजीवन थप प्रभावित भएको छ । 

बिहीबार र शुक्रबार दिउँसो घाम लागेपनि दुई दिनदेखि पुनः चलेको शीतलहर र चिसो हावाका कारण जनजीवन कष्टकर भएको हो । शीतलहरका कारण बालबालिका, वृद्धवृद्धा, अशक्त र विपन्न वर्गका मानिस सबभन्दा बढी प्रभावित भएका हुन । अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्याला मजदुरी गरी घर परिवारको गुजारा चलाउँदै आएकाहरु सबभन्दा बढी मर्कामा परेका छन् । 

विद्यालय जानुपर्ने बालबालिका, विभिन्न कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही र सेवा प्रवाह गर्नुपर्ने कर्मचारीलाई पनि चिसो, बाक्लो हुस्सु र शीतलहरले समस्या पारेको छ । यस्तो प्रतिकूल मौसममा अत्यावश्यक कामबाहेक घरभित्रै न्यानो भएर बस्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न, झोलिलो, तातो खानेकुरा खान र मनतातो पानी मात्र पिउन चिकित्सकको सुझाव छ । 

शीतलहर र चिसो सिरेटोले मानिस मात्र नभइ पशु चौपाया, पशुपन्छी, कृषि बालीनाली र बोट बिरूवामा समेत निकै असर परेको सर्वसाधारणको भनाइ छ । हुस्सु र कुहिरोका कारण मधेश प्रदेशमा दैनिक जनजीवनसँगै यातायात र हवाइ क्षेत्र समेत प्रभावित हुँदै आएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।