
विराटनगर । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मोरङले दलहरूसँग छलफल अगाडि बढाएको छ ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबार निर्वाचन कार्यालय मोरङले मोरङका राजनीति दलहरूसँग छलफल अगाडि बढाएको हो । निर्वाचनलाई शान्ति र भयरहित वातावरणमा गर्ने विषयमा छलफल भएको नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले जानकारी दिनुभएको छ ।
छलफलमा नेकपा एमाले मोरङका अध्यक्ष अजम्बर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु मास्के लगायतको उपस्थिति थियो । कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि महिला एक, एक दलित र एक अन्य गरी तीन पदमा निर्वाचन हुँदैछ । कोशी प्रदेशमा ९३ जना प्रदेश सभा सदस्य र दुईसय ७४ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल तीन सय ६७ जना मतदाता छन् ।