फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति

मंसिर २६, २०८२ |रासस
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति

घोराही (दाङ) । यहाँको राप्ती गाउँपालिका-२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण रू ६७ लाख मूल्य बराबरको क्षति भएको छ ।

शुक्रबार बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा रू ६७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।

आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइएको घरसमेत जलेको छ । यसअघि राप्ती गाउँपालिकाले यहाँ फोहर व्यवस्थापन गर्दै आएको थियो । यहाँ गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजरको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो । आगलागीको कारण पहिचान हुन नसकेको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।