
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले पूर्वपश्चिम राजमार्गको हेटौंडा सडक खण्डअन्तर्गत राप्तीपुलदेखि रातोमाटेसम्मको राईटअफ वेमा पर्ने सडकको दाँयाबाँया २५-२५ गजमा अतिक्रमण गरी बनेका घर टहरा हटाउन सुरु गरेको छ ।
शनिबार बिहानै बुद्धचोकस्थित हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको घरबाट अतिक्रमित संरचना भत्काउन सुरु गरिएको हो ।
डिभिजन सडक हेटौंडाले १५ दिनको सार्वजनिक सूचना जारी गरी घरटहरा हटाउन दिएको समय सीमा हिजो सकिएको थियो ।
अतिक्रमित क्षेत्रमा बनेका घर टहरा हटाउन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । ६ वटा एक्साभेटरसहित साना ठूला गरी १८ वटा लोडर डोजर प्रयोग गरेर सडक खाली गराउने कार्य भइरहेको सडक डिभिजन हेटौंडाका प्रमुख सिनियर डिभजनल इन्जिनियर गुरु अधिकारीले बताउनुभयो ।
लामो समयदेखिको मुआब्जा विवादका कारण हेटौंडाको यो सडक क्षेत्रबाट घर हटाउन सकिएको थिएन । स्थानीयले सर्वोच्च अदालतमा मुद्दा हालेका कारण केही वर्षअघि सडक विस्तार रोकिएको थियो । तर सर्वोच्चले २५ गजभित्रका घर हटाउन सकिने गरी फैसला गरेका कारण अतिक्रमण हटाउन सुरु गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो ।
सर्वोच्च अदालतले हिजो दिएको अन्तरिम आदेशको पत्र भने आधिकारिकरूपमा प्राप्त नभएको उहाँले बताउनुभयो।