
धनकुटा । धनकुटामा यातायात व्यवस्था सेवा कार्यालय र प्रहरीले कोशी राजमार्गको भेडेटार-चित्रे खण्डमा मालवाहक सवारीले भारवहन मापदण्ड पालना गरे नगरेको बुझ्न छड्के अनुगमन सुरू गरेको छ ।
ट्रक, टिपर, मिनीटिपर, ट्रेलर, सेमीट्रेलर, ट्रयाक्टरजस्ता मालवस्तु ढुवानी गर्ने साधनले मापदण्डविपरीत 'लोड' ओससारपसार गर्दा सडकमा क्षति पुगेको गुनासोपछि केही दिनअघि प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको अध्यक्षतामा बसेको बैठकले भारवहन निर्देशिका २०७४ कडाइका साथ पालना गराउने निर्णय गरेको थियो ।
राष्ट्रिय गौरवका आयोजनाको सामान बोकेकाबाहेक अन्य ढुवानीका साधनले भारवहन मापदण्ड पालना नगरे संघीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा कोशी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ आकर्षित हुने यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख रमेशप्रसाद दाहालले बताउनुभयो ।
भारवहन मापदण्ड पालनामा प्रशासनले कडाइ गरे पनि कोशी राजमार्गको धनकुटाखण्डमा धर्मकाँटा छैन। धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा र खोटाङलगायत पहाडि जिल्ला उक्लने ढुवानीका साधनले सुनसरीमै 'तौल' गराउँछन् । धरान धनकुटा सडकको अधिकतम भारबहन क्षमता करिब ४० टन मात्रै भएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्रप्रसाद साहले बताउनुभयो ।