इलाममा पहिरोले पुरिँदा एकै परिवारका ६ सहित ८ जनाको मृत्यु

आश्विन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
इलाममा पहिरोले पुरिँदा एकै परिवारका ६ सहित ८ जनाको मृत्यु

इलाम । इलाममा पहिरोले पुरिँदा एकै परिवारका ६ सहित ८ जनाको मृत्यु भउको छ । इलामकै विभिन्न स्थानमा १२ जनाभन्दा धेरै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

इलाम नगरपालिका-६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ । २ जना बेपत्ता भएको छिमेकी रेवज तामाङले जानकारी दिए ।

यसैगरी सन्दकपुर गाउँपालिका-१, छाँगेमा एकजनाको मृत्यु हुनुका साथै एकजनाको अवस्था गम्भीर छ । माइजोगमाई गाउँपालिका-६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै, सन्दकपुर गाउँपालिका-३, सुलुबुङमा एकजना, माङ्सेबुङ गाउँपालिका-१ मा १ गर्भवती महिला र १ पुरुष गरी २ जना गम्भीर घाइते छन् ।

इलामकै फाकफोकथुम-३, आमचोक रातमाटेमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ ।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार जिल्लाको माङसेबुङ मानेभन्ज्याङ, देउमाईसहित इलाम नगरपालिकाका विभिन्न स्थानमा पहिरोले पुरिँदा केही नागरिक बेपत्ता भएका छन् । बेपत्ताको संख्या यकिन नभएको उनले बताइन् । यद्यपि स्थानीयले भने यी स्थानमा १५ जना बेपत्ता भएको बताएका छन् । पहिरोले दर्जनौं घरमा क्षति पुर्‍याएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.