तातोपानी नाकामा हुने सडक अवरोधले व्यापारीलाई दशैं-तिहारलक्षित सामग्री काठमाडौं ल्याउनै सकस

मानसरोवर जाने तीर्थयात्रीसमेत समस्यामा
आश्विन ११, २०८२ |कमला पाख्रिन
तातोपानी नाकामा हुने सडक अवरोधले व्यापारीलाई दशैं-तिहारलक्षित सामग्री काठमाडौं ल्याउनै सकस

सिन्धुपाल्चोक । दशैं लागिसकेको छ । बजारमा नयाँ सामान खोज्ने उपभोक्ताको भिड बढिरहेको छ । 

तर पहिरोका कारण तातोपानी नाका सामान आयातमा बारम्बार अवरोध भएपछि चीनबाट दशैं-तिहारलक्षित लत्ता-कपडा, इलेक्ट्रोनिक सामग्री, खाद्य पदार्थ लगायतका दैनिक उपभोग्य वस्तु अडि्कँदा बजारको आपूर्ति प्रणाली प्रभावित हुनुका साथै व्यापारीहरू ठूलो आर्थिक नोक्सानीमा परेका छन् ।

भदौ ९ गतेदेखि अवरूद्ध भएको सडक बल्लतल्ल झन्डै एकमहिनापछि खुलेको छ । रोकिएका १ हजार ५ सयभन्दा बढी कन्टेनर जसोतसो राजधानी काठमाडौं झर्ने प्रयासमा छन् । 

चार ठाउँमा निरन्तर पहिरो खसिरहँदा व्यवसायी र मानसरोवर जाने पर्यटकले दु:ख खेप्नुपरेको छ भने सडक अवरोधले भन्सारले दैनिक औसत साढे सात करोड राजस्व घाटा व्यहोर्नुपरेको छ ।

यस्तै, मानसरोवर यात्रामा आएका पर्यटक यात्रा पूरा गर्न नसकी समस्यामा परेका छन् । तत्कालका लागि पर्यटक र सामान आयात सहज बनाउन अस्थायी रूपमा बाटो खुलाइएकोमा हिउँद लागेसागै दीर्घकालीन योजना बनाएर सडक मर्मत गर्ने तयारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को समयमा नाका अवरूद्ध हुने समस्या बर्षेनि दोहोरिँदै आएको छ । तर व्यापारी र स्थानीयवासीहरूले हरेक वर्ष समस्या दोहोरिादा पनि सरकारले दीर्घकालीन समस्या समाधानमा ध्यान नदिएको र 'बेखबर' बनेर बसेको उनीहरूको गुनासो छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।