काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग समयमै निर्वाचन सम्पन्न गराउन तयार रहेको बताउनुभएको छ ।
बिहीबार नवनियुक्त गृह एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार रहेको बताउनुभएको हो ।
उहाँले आयोगलाई काम गर्नबाट पन्छिने छुट नरहेको उल्लेख गर्दै निष्ठा माथि प्रश्न गर्ने ठाउँ नदिने प्रतिबद्धता पनि जनाउनुभयो । शान्ति सुरक्षा विना निर्वाचन सम्पन्न गर्न नसकिने स्थिति तर्फ सरकारको ध्यानाकर्षण गराउँर्दै मुलुकमा शान्ति सुरक्षाको स्थिति खल्बिलिएको अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरीरहेको बताउनु भयो ।
कानून बमोजिम दर्ता भएका सबै राजनीतिक दलहरूको सहभागिता हुने र राजनीतिक दल तथा निर्वाचनमा प्रतिस्तर्धा गर्न चाहने स्वतन्त्र उम्मेदवारहरूलाई समेत बिना अवरोध निर्वाध रुपमा प्रचार प्रसार गर्न र आफ्ना धारणा राख्न पाउने वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनु भयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याईदिएमा कानूनमा रहेका बाधाहरू हटेर मतदाता संकलन लगायत कार्यसम्पादनमा सहज हुने बताउनुभयो ।