काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ । बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी प्रदर्शनपछि विकसित घटनाक्रमका बारेमा छलफल गर्न निस्किएपछि बैठक स्थगित भएको हो ।
बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल भइरहेको थियो । गृहमन्त्री, रक्षामन्त्री र गृहसचिव बैठकबाट बाहिरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकारको प्रतिनिधिको उपस्थितिबिना विधेयकमाथिको छलफल अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गर्न आग्रह गर्नुभएको थियो ।
अधिकांश सांसदले बैठक स्थगित गर्न प्रस्ताव गरेसँगै सभापति इश्वरीदेवी न्यौपानेले बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।