सांघाइ सहयोग संगठन कस्तो हो ?

भाद्र ११, २०८२ |दशरथ राई
सांघाइ सहयोग संगठन कस्तो हो ?

काठमाडौं । सांघाइ सहयोग संगठन-एससीओ राजनीतिक तथा आर्थिक सहयोग, आतंकवादविरूद्धको लडाइँ र क्षेत्रीय शान्ति तथा स्थिरतालाई जोड दिने उद्देश्यले सन् २००१ मा स्थापना भएको हो । 

संगठनमा भारत, चीन, रूससहित १० सदस्य मुलुक रहे पनि चीन र रूसकै प्रभुत्व रहने गरेको छ । पछिल्लो समय अमेरिकाविरूद्ध ध्रुविकृत हुँदै गएको एससीओ विश्व अर्थतन्त्रमा समेत प्रभावशाली बन्दै गएको छ ।

बहुध्रुवीय विश्व निर्माण गर्ने चीन र रूसको रणनीतिक पहलका रूपमा स्थापना गरिएको प्रमुख संस्था हो सांघाई सहयोग संगठन-एससीओ, जसमा चीन र रूसबाहेक भारत र पाकिस्तानसहितका १० सदस्य मुलुक छन् । 

सन् १९९६ मा चीन, कजाखस्तान, किर्गिजस्तान, रूस र ताजिकिस्तानसम्मिलित सांघाई फाइभ नामक संगठनलाई नै सन् २००१ मा सांघाई सहयोग संगठनको रूप दिइएको थियो ।

पछि यसमा उज्वेकिस्तान, भारत, पाकिस्तान, बेलारूस र इरान सहभागी भए । यससँगै यो संगठन भूगोल र जनसंख्याका हिसाबले विश्वकै ठूलो क्षेत्रीय संगठन मानिएको छ जसले युरेसियन भूभागको लगभग ८० प्रतिशत र विश्व जनसंख्याको ४० प्रतिशत ओेगटेको छ । 

सन् २०२३ मा इरान सहभागी भएपछि त एससीओले विश्वको तेल भण्डारको २० प्रतिशत र प्राकृतिक ग्यासको ४४ प्रतिशत नियन्त्रण गर्छ । एससीओले आफूलाई पश्चिमा मुलुकको प्रभुत्व रहेको संयुक्त राष्ट्रसंघको विकल्पको रूपमा समेत प्रस्तुत गर्छ । 

एससीओभित्र निर्णय लिने सबै सदस्य मुलुकबाट सर्वसम्मत सहमति आवश्यक पर्ने व्यवस्था गरिएको छ, तर, यसका नीति र दिशा भने रूस र चीनबाट बढी प्रभावित छन् । 

अमेरिकाले सन् २००५ मै पर्यवेक्षकका रूपमा आवेदन दिए पनि अस्वीकार गरिएको थियो । सुरक्षा सहकार्य तथा ऊर्जा सहयोग यसका प्रमुख पहलहरू हुन् भने एससीओ चीनको बेल्ट एण्ड रोड-बीआरआईमा समेत जोडिएको छ, जसलाई एसिया, युरोप र अफ्रिकाभर व्यापार सन्जाल र पूर्वाधार विकासलाई बढाउन तयार परिाएको चिनिया विदेश नीतिको आधारशीला मानिएको छ । 

भारतबाहेक अधिकांश एससीओ सदस्य मुलुकले बीआरआईलाई समर्थन गरेका छन् । तर, आर्थिक सहयोगका क्षेत्र भने सीमित छन् । चीनले विकास कोष र स्वतन्त्र व्यापार क्षेत्रको प्रस्ताव गरे पनि मस्कोले विरोध जनाएको छ । 

यस्तै, अफगानिस्तानको अस्थिरता र आतंकवाद एससीओका लागि चुनौती बनेको छ । किनभने एससीओका ६ सदस्य मुलुकको सीमा अफगानिस्तानसँग जोडिएको छ । 

कर विवादका कारण अमेरिकासँगको दूरी टाढा भएसँगै भारत पनि एससीओसँग नजिकिएको छ । विभिन्न आलोचना र चुनौतीका बीच एससीओ विश्व अर्थतन्त्रमा प्रमुख शक्ति बन्ने दिशातर्फ भने अग्रसर छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।