काठमाडौं । बिम्स्टेक राष्ट्रहरुमा कृषि तथा खाद्य प्रणालीमा देखिएका समस्या समाधानका लागि साझा रणनीति बनाउन कृषिमन्त्री तथा सचिवस्तरीय तेस्रो बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ ।
बिमस्टेक मुलुकको आज बस्ने सचिवस्तरीय बैठकले साझा एजेन्डा तय गर्नेछ भने भोलिको मन्त्रीस्तरीय बैठकले साझा प्रतिबद्धता जारी गर्नेछ । बैठकमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव न्यूनीकरण, खाद्य सुरक्षा, उत्पादन वृद्धि, किसान सुरक्षा लगायतका विषयमा छलफल हुने कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताउनु भयो ।
बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरुले अपनाएका प्रविधिको ज्ञान आदानप्रदान र किसान सुरक्षाका विषयमा पनि छलफल हुँदैछ । त्यस्तै, कृषिको अनुसन्धानका विषयमा पनि छलफल हुँदैछ । बिमस्टेकमा नेपालसहित थाइल्यान्ड, बंगलादेश, भुटान, भारत, म्यानमार र श्रीलंका छन् ।