जुम्ला । कर्णालीको प्रमुख पर्यटकीय गन्तब्यका रूपमा स्थापित रारातालमा आउने पर्यटकहरूको सुरक्षाको लागि मुगुको ताल्चामा अस्थायी पर्यटक प्रहरी चौकी स्थापना भएको छ । राराताल अवलोकन भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी चौकी स्थापना भएको हो ।
सहायक प्रहरी निरीक्षक सञ्जुकुमार विश्वकर्माको कमाण्डमा ५ जना प्रहरी राखेर चौकी स्थापना भएको हो । ताल्चा विमानस्थल नजिकै रारा जानेबाटोमा पर्यटक प्रहरी चौकी स्थापना भएकोले पर्यटकहरूको सुरक्षादेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको भ्रमण अवलोकन सुरक्षित हुने भएको हो ।
पर्यटक प्रहरी चौकीको उद्घाटन छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले गर्नुभएको थियो । उहाँले मुगुमा रारा लगायतका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरू दिन प्रतिदिन बढिरहँदा सुरक्षा चुनौति देखिएको बताउनुभयाे ।
रारातालमा पर्यटकको आगमन र सुरक्षा चुनौति पहिचान गरेर नगरकार्यपालिकाले पर्यटक प्रहरी चौकीको माग सहितका निर्णयहरू संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्रालयमा पठाएको थियो । सोही अनुसार पर्यटक प्रहरीको व्यवस्था भएको नगरप्रमुख भामको भनाइ छ । उहाँका अनुसार केही समयपछि रारा सल्लेरीमा समेत पर्यटक प्रहरी पोष्ट स्थापना गर्ने तयारी थालिएको छ ।
जसका लागि भवन तथा अन्य भौतिक संरचना बनाउन नगरपालिकाले जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइसकेको छ । पर्यटक प्रहरीले पर्यटकहरूको सुरक्षा मात्र नभइ समग्र सुरक्षाका क्रियाकलापमा संलग्न हुनेछ ।
मुगु प्रहरी प्रमुख डिएसपी सरोज गिरीले रारा क्षेत्रमा घुम्न आउने पर्यटकहरू निर्धक्कपुर्वक घुम्न पाउने बताउनुभएकाे छ । देशभर २९ वटा पर्यटक प्रहरी चौकी रहेकोमा कर्णालीमा पहिलो पर्यटक प्रहरी चौकीका रूपमा मुगुको ताल्चामा स्थापना गरिएको हो ।
चौकीले विशेष गरेर विदेशी पर्यटकहरुको निगरानी राख्ने उनको भनाइ छ । पर्यटक प्रहरी चौकीका प्रमुख सहायक प्रहरी निरीक्षक सञ्जुकमार विश्वकर्माले रारा घुम्ने पर्यटकले असुरक्षित महसुस गर्नुपर्ने दिनको अन्त्य भएको बताउनुभयाे । उहाँले पर्यटकलाई समस्या हुने वित्तिकै चौकीको सम्पर्कमा आइहाल्न समेत आग्रह गर्नुभयाे ।
छायाँनाथ रारा नगरपालिकाले रारामा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, बिजुलीलगायतका आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने देखिएको छ ।