विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका पूर्वमहान्यायाधिवक्ता संग्रौलामाथि छानबिन गर्न समिति गठन

चैत्र ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका पूर्वमहान्यायाधिवक्ता संग्रौलामाथि छानबिन गर्न समिति गठन

भक्तपुर । काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक तथा पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलामाथि छानबिन गर्न जाँचबुझ समिति गठन भएको छ । कलेजका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि संग्रौलामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन भएको हो ।

पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको कलेज प्रशासनले जनाएको छ ।

गत फागुन २४ गते राति काठमाडौं स्कुल अफ लकी एक विद्यार्थीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कलेजमा विद्यार्थीहरूलाई यौन दुर्व्यवहार हुने गरेको आरोप लगाएकी थिइन् । उक्त पोस्टमा ती विद्यार्थीले कलेज प्रशासनले आफ्नो निवेदनमाथि छानबिन प्रक्रिया अगाडि नबढाएको र कुनै सुनुवाइ नभएको भन्दै तत्काल निर्देशकलाई निलम्बन गरी छानबिन अगाडि बढाउन पनि माग गरेकी थिइन् ।

कलेज प्रशासनले भने निवेदन प्राप्त गरेको केही दिनपछि नै कलेजमा परीक्षा सुरु भएकाले छानबिन केही ढिलो भएको बताएको छ ।

यता कार्यकारी निर्देशक संग्रौलाले भने आफू विरुद्ध विद्यार्थीले लगाएको आरोप तथ्यहीन र मिथ्या सूचनामा आधारित भ्रमपूर्ण अभिव्यक्ति भएको बताउनुभएको छ । घटनाबारे स्पष्टीकरण दिन कलेजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले आफ्नो चरित्र हत्या गर्न परिचालित विद्यार्थीले सामाजिक सञ्जालमा यौन दुर्व्यवहार भएको आरोप लगाएको बताउनुभयो ।

उहाँले समाजिक सञ्जालमा कसैले पोस्ट गरेकै भरमा एकपक्षीय रूपमा मिडियाहरूले समाचार लेखेर ‘मिडिया ट्रायल’ गरेको भन्दै सत्यतथ्य बुझेर मात्रै समाचार लेखिदिन आग्रह समेत गर्नुभयो । पत्रकार सम्मेलनका क्रममा आफू र परिवार समेतलाई मुछेर आरोप लगाउने एक विद्यार्थीले ‘ब्ल्याकमेल’ गरेको र पाँच-पाँच लाखका दरले २० लाख रकम माग गरेको उहाँको प्रत्यारोप थियो । विद्यार्थीले दुर्व्यवहार भएको भन्दै दिएको निवेदनमा कोबाट दुर्व्यवहार भएको नखुलाउनुले कलेजलाई बदनाम गराउनु प्रमुख उद्देश्य भएको निर्देशक संग्रौलाको आरोप थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement